मितेरी सहकारी प्रकरणमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न सिफारिस
काठमाडौं, ६ कात्तिक । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हाे ।
ब्यूरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको हो ।
सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेख्ने तयारी गरेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।
गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।
प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि हाेइनन् तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको प्रहरीले जनाएकाे छ ।
