सयपत्री फूल बिक्री गरेर राम्राे आम्दानी गर्दै सुर्खेतका किसान
सुर्खेत, १२ कात्तिक । सुर्खेतका सयपत्री फूल किसानले अहिले फूलकाे व्यापार गरेर राम्राे आम्दानी लिने गरेका छन् ।
कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाउनुभएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उहाँले गत वर्षदेखि फूलखेती गर्नुभएको हो । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् ।
उहाँले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाउनुभएको थियो । उहाँले भन्नुभयो, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उहाँले गर्नुभएको छ ।
उहाँले भन्नुभयो “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।”
कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताउनुभयो । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती पनि गर्दै आउनुभएको छ । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ ।