सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ जना घाइते

दाङ, १२ कात्तिक । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

घाइते भएका सबैलाई अहिले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागेको प्रहरीले जनाएको छ । घाइते भएका केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *