मनाङेलाई लगियाे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, आजै अदालत पेश गर्ने तयारी

काठमाडौँ, २७ कात्तिक । गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा लगिएकाे छ ।

उनलाई आज बिहानै काठमाडौँको सानो भर्‍याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरेको हो ।

सिआइबीले मनाङेलाई कानुनी प्रक्रिया अनुसार मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ ।

मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदर गरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजाय काट्नु पर्ने भएको छ ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक-पटक मन्त्रीसमेत बनिसकेका छन् ।