वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, २७ कात्तिक । वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा–२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।