गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे जेल चलान, पठाइयो डिल्लीबजार कारागार
काठमाडौं, २७ कात्तिक । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ
ज्यान मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री मनाङेलाई जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलान आदेश दिएका हुन् ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले बाँकी समयका लागि उनलाई कारागार चलान गरेकाे हाे ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको ज्यानमुद्दाको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । उनी सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलास्थित एक घरबाट मनाङेलाई पक्राउ गरेको थियो।