जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिनुभयो ।
“भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्काे बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्छ । हाम्रो स्रोत साधन जति छन्, तिनीहरुको वैज्ञानिक ढङ्गले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।”