दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा
नुवाकोट, २३ मङ्सिर । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ ।
‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।
यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ ।
दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ ।
मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताउनुभयो ।
यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो । उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ । महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ । काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ ।
