सही विचार र नेतृत्वको पक्षमा उभिन अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं, ३० मङ्सिर । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सही विचार र नेतृत्वको पक्षमा उभिन सबै पार्टी पङ्त्तिलाई आग्रह गर्नुभएकाे छ ।

आइतबार केन्द्रीय संगठन विभागले आयोजना गरेको राष्ट्रिय कार्यशाला भेलालाई  सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सही विचारमा अडिने र त्यसलाई अघि बढाउन इमानदारी चाहिने भन्दै सही विचार र नेतृत्वको पक्षमा उभिन आग्रह गर्नुभयाे ।

चीनमा ९ करोड पार्टी सदस्यहरू एउटै नेतृत्वको वरिपरि गोलबद्ध रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो त्यही सही हो भनेर डाैड्याे भने पार्टीलाई एकताबाट टाढा लैजाने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, अहिले पार्टीमा केही प्रवृत्ति देखिएका छन् । पार्टीमा भोटो फटाएको तर नेतृत्व दिन नसक्ने, अर्को भनेको विमति जनाउने तर सही बाटो के हो त्यो पहिल्याउन नसक्ने । असहमति राखेर आफूलाई कुछ हौँ भन्ने पृथक् देखाउन खोज्ने प्रवृत्ति । प्रतिक्रियावादी शक्तिले त विभाजन गर, अन्तर्विरोध पैदा गरेर राज गर भन्ने नीति नै हो ।

उहाँले सबै ठाउँको अन्तर्विरोध मुख्य नेतृत्वले हल गरिदिन नसक्ने र नपर्ने भन्दै सही विचारका आधारमा त्यसका अनुयायीहरूले मिलाउनुपर्ने बताउनुभयाे ।