रवि लामिछानेको बयान आज लिइँदै, बयानपछि थुनछेक बहस
काठमाडौं, ९ पुस । सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान आज जिल्ला अदालत कास्कीमा आज पनि जारी हुनेछ ।
जिल्ला अदालत कास्कीमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतको बयान हुन लागेकाे हाे ।
सोमबार छविलाल जोशीको बयान भएकोमा आज लामिछानेलगायतको बयान हुन लागेको अदालत स्रोतले जनाएको छ ।
सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकोमा जोशीको मात्र बयान सकिएकाे थियाे ।
लामिछानेको मुद्दा जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा छ । बयान सकिएपछि उनीहरूको थुनछेक बहस हुनेछ ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ । सहकारी ठगीको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद निलम्बित भएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।