भीम रावललाई सुध्रिने मौका दिएकै हौं, सुध्रिन सक्नुभएन : महासचिव पोखरेल

काठमाडाैं, १२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टी अनुशासन विपरीतका कार्यहरू गर्दा सुध्रिने मौका दिंदा पनि सुध्रिन नसकिएकाे बताउनुभएकाे छ ।
शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले पार्टीमा रहँदा भीम रावलका गतिविधिहरू अनुशासन विपरीतका रहेपनि सुध्रने मौका दिइएको बताउनुभएकाे हाे ।
‘संसदभित्र संसदीय ह्वीप अत्यन्त महत्त्वपूर्ण मानिन्छ। ह्वीप उल्लंघन गर्यो भने स्वतः कारबाहीको भागीदार हुन्छ। संसदभित्र एमाले के गर्दै थियो, उहाँ के गर्दै हुनुहुन्थ्यो भन्ने त सबैले थाहा पाएकै विषय हो। त्यसका बाबजुद पनि उहाँलाई सुध्रिने मौका दिएका हौं,’ महासचिव पोखरेलले भन्नुभयाे ।
महासचिव पोखरेलले रावलका गतिविधि पार्टी अनुशासन विपरीतका रहेकाे कारण स्पष्टीकरण समेत सोधिएको बताउनुभएकाे छ ।
‘कुनै विषयमा चित्त बुझेन र पार्टीले प्रश्न गर्यो स्पष्टीकरण सोध्यो भने रेस्पोन्स गर्नुपर्यो। रेस्पोन्स गर्दै नगरेपछि उहाँ आफै बाहिरिएको हो भन्ने प्रमाणीत हुन्छ,’ महासचिव पोखरेलले भन्नुभयाे ।
रावलले गरेका कुराहरू अनुशासनका दायराभन्दा बाहिर छन् भन्ने कुराको प्रमाण जुटाउनै नपर्ने पनि उहाँको भनाइ छ।