दक्षिण कोरियामा एक सय ७५ जना यात्रु बाेकेकाे विमान दुर्घटना, २८ जनाको मृत्यु

काठमाडौँ, १४ पुस । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

एक सय ७५ जना यात्रु र चालक दलका ६ जना सदस्य रहेको जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो ।

योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।

उक्त विमानमा दुई जना थाइल्याण्डका नागरिक र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए ।

थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनामा परेको हो ।