दक्षिण कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या १७९ पुग्यो

काठमाडौं, १५ पुस । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७९ पुगेको छ ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार १८१ मध्ये दुई जनाबाहेक सबैको ज्यान गएको बीबीसी हिन्दी समाचारले जनाएकाे छ ।

विमानमा ६ जना चालक दलका सदस्यसहित १७५ यात्रु सवार थिए । विमानमा रहेका दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको थियो । उनीहरू दुबै चालक दलका सदस्य हुन् ।

जेजु एयरको विमान थाइल्यान्डको बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बताइएको छ ।

कोरियाली बजेट एयरलाइन्स जेजु एयरले सञ्चालित बोइङ ७३७–८०० विमान दुर्घटनामा परेको थियो ।