नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं, १५ पुुस । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रमुख बस्नेतले पदको दुरुपयोग गरेर आफ्नै नगरपालिका क्षेत्रमा रहेको पद्म कोलनी प्रालि, पद्म मर्चेन्ट कम्पनी र जगतगुरु कृपालु प्रतिष्ठान नेपालका लागि काम गरी नाजायज लाभ लिएको र राज्यकोषमा नोक्सानी हुने काम गरेको आरोप आयोगको छ ।
नगरप्रमुख बस्नेतले बजार मूल्य रु ४७ करोड ७५ लाख भएको जग्गा पद्या कोलनीले जग्गाधनीलाई रु १८ करोड ९४ लाख १८ हजार चार सय ४८ भएको उल्लेख गरी भुक्तान दिएको, राजश्व र बैनाबट्टा रकमसमेत गरी रु कूल २३ करोड २२ लाख २७ हजार मात्रै भुक्तानी गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।
सो कार्यमा नगरप्रमुख बस्नेतको प्रत्यक्ष सहभागिता रहेको पाइएको आयोगको आरोप छ । नगरप्रमुख बस्नेत र निजको श्रीमती उर्मिला बस्नेतको खातामा रु दुई करोड १५ लाख ७३ हजार तीन सय ९५ रकम जम्मा गरेको पाइएको छ । यस्तै, रु छ करोड ८२ लाख बराबरको जग्गा र वैवाहिक भोज गर्दा रु २४ लाख ७२ हजार छ सय ३७ बराबरको रकम समेत पद्म कोलनीका सञ्चालक राजुप्रसाद कँडेलले उपलब्ध गराएको आयोगले जनाएको छ ।
आयोगले रु नौ करोड २२ लाख ४६ हजार ३२ बराबरको बिगो दावी गर्दै नगरप्रमुख बस्नेत, निजका श्रीमती उर्मिला बस्नेत, पद्या कोलनीका सञ्चालक कँडेल विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुर गरेको अभियोगमा पनि प्रमुख बस्नेत, निजको श्रीमती उर्मिला र पद्म कोलनीका सञ्चालक कँडेल विरुद्ध रु १३ करोड १२ लाख ७३ हजार बराबरको बिगो दावी गर्दै आइतबारै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बनमा परेका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ को दफा २७ अनुसार स्वत: निलम्बनमा पर्ने व्यवस्था छ।
दुबै कसुरले मुद्दा दायर भएपछि अन्तिम किनारा नलागेसम्म त्यस्ता व्यक्ति स्वत: निलम्बन भएको मानिने उल्लेख छ।
