धरानमा खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ

सुनसरी, ७ माघ । धरानमा साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।
उक्त अभियोगमा पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन् ।
उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।