मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

तनहुँ, ८ माघ । तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन् । विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन् ।

कारागारमा रहेका तीन सयभन्दा बढी कैदीबन्दीमध्ये करिब एक सयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ ।”

कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम रु तीन सय ७५ देखि रु एक हजारसम्म बिक्री हुने गरेको छ । एक जना कैदीबन्दीले मुढा बुनेर रु चार हजारदेखि रु पाँच हजारसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ । अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन् । उहाँले भन्नुभयो, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ, कैदीबन्दीले मुढा बिक्री गरेर घरमा खर्च पठाउने गरेका छन् ।”

एउटा मुढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।