कैलालीमा कैँची हानेर भाइले गरे दाइको हत्या

कैलाली, १३ माघ । धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइले कैँची प्रहार गरेर सहोदर दाजुको हत्या गरेकाे छ ।

भाइले कैँची प्रहार गर्दा मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।

कैँची प्रहारबाट घाइते भएका दाजु लालबहादुरको उपचारका क्रममा बिहान २ः५० मा मृत्यु भएको उहाँले बताउँनुभयो ।

मृतकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने प्रहरीले हत्या आरोपमा भाइ प्रकाशलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।