बाजुराका सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
बाजुरा, १३ माघ । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।
जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
यहाँका सात हजार आठ सय ९४ किशोरीलाई यही माघ २२ गतेदेखि चार नगरपालिका र पाँच गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले बताउनुभयो ।
शनिबार जिल्ला खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नौ वटै पालिकामा पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने तयारी भइरहेको खड्काले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियानमा विद्यालय जाने सात हजार आठ सय ६० र विद्यालय नजाने ३४ किशोरीलाई खोप लगाइने छ । स्थानीय तहका एक सय १८ विद्यालय, ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने बताउँदै प्रमुख खड्काले अभियानमा दुई सय १० स्वास्थ्यकर्मी र चार सय १८ स्वयम्सेवक खटिने जानकारी दिनुभयो ।
देशभर एचपिभीे खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।