ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक
काठमाडाैं, १५ माघ । सरकारले सामाजिक सञ्जालमा ट्रोल गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना तिराउने विधेयक ल्याएको छ।
सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। सरकारले यो विधेयक संसदमा पेश गरेको हो।
विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केही शर्तहरू पालना गर्नुपर्ने उल्लेख छ।
‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा घृणास्पद अभिव्यक्ति (हेट स्पीच) मानिने कार्य गर्न नहुने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीत कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।’
यस्तै, झुटो तथा भ्रमपूर्ण सूचना फैलाउन, सूचनालाई तोडमोड गरी प्रसार गर्न, निषेध गरिएका वस्तुको विज्ञापन तथा कारोबार गर्न नहुने लगायतका कुराहरू पनि विधेयकमा उल्लेख गरिएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना गर्नुअघि सफाईको मौका दिइने पनि विधेयकमा उल्लेख छ।