कञ्चनपुर क्षेत्र बाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
कञ्चनपुर, १६ माघ । कञ्चनपुरका संरक्षण क्षेत्र बाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराहरूको अस्तित्व जोखिममा परेको एक अध्ययनले देखाएको छ।
नेपाल पन्छी संरक्षण सङ्घका अनुसार विभिन्न कारणले ८६ प्रतिशत चरा जोखिममा रहेका छन्।
अनियन्त्रित शिकार, अवैध व्यापार, जलवायु परिवर्तन, विषादी प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर र सिँचाइका लागि पानीको अत्यधिक प्रयोगले चराको बासस्थान नष्ट भइरहेको छ।
बेलौरी नगरपालिकाको पुरैनी तालमा सन् २०१७ मा २,२०० जलपन्छी भेटिएकोमा २०२५ मा यो संख्या घटेर ७०५ मा झरेको छ।
चराविद् हिरुलाल डगौराका अनुसार चराहरूले बीउ छर्न, परागसेचन गर्न, कीरा नियन्त्रण गर्न र पर्यापर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्छन्। स्थानीय निकायहरूले विषादी प्रयोग र अवैध शिकार नियन्त्रण गर्नुपर्ने उनको भनाई छ।
कञ्चनपुरमा ४८० प्रजातिका चरा पाइन्छन्, जसमध्ये ९ प्रजाति संरक्षित सूचीमा छन्। कानून अनुसार संरक्षित पन्छी मार्नेलाई १५ देखि ३० हजार रुपैयाँसम्म जरिवाना वा तीन देखि नौ महिनासम्म कैद हुन सक्छ।
बिसिएनले चरा संरक्षणका लागि समुदायस्तरमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। स्थानीय सरकारले पनि सीमसार क्षेत्र र जलपन्छी संरक्षणका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।