रवि लामिछानेसहित १४ जना विरुद्ध चितवनमा मुद्दा दर्ता

चितवन,२१ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीले दिएको थप अनुसन्धान प्रतिवेदन अध्ययन गरी रवि लामिछानेसहित १४ जनालाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।

मुद्दामा गोर्खा मिडिया प्रालि, साहारा बचत लगायत ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ। यसअघि, रवि लामिछाने सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका थिए ।

प्रहरीले पठाएको पहिलो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको थियो। थप अनुसन्धानपछि प्रहरीले साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ फिर्ता पाउनुपर्ने मागदाबीसहित पुरक निवेदन पेश गरेको थियो।

प्रहरी अनुसन्धान प्रतिवेदनमा दुवै निवेदन अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ। त्यस्तै कम्पनीको हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ।