दक्ष जनशक्ति र कच्चा पदार्थको अभावले भोजपुरे खुकुरी उद्योग संकटमा

भोजपुर,२४ माघ । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि परिचित भए पनि पछिल्लो समय दक्ष कालीगढ र कच्चा पदार्थको अभावले यो व्यवसाय संकटमा परेको छ।

नेपालमा मात्र नभई विदेशमा समेत प्रख्यात भोजपुरे खुकुरी उद्योग दक्ष जनशक्ति नहुँदा समस्यामा परेको हो।

रोजगारी र पढाइका लागि युवाहरू विदेश पलायन हुने क्रम बढेसँगै सीप सिक्नुपर्ने युवाहरू पनि विदेशतिर लाग्दा खुकुरी बनाउने आरन उद्योगहरूको संख्या घट्दै गएको आरन उद्योगी घनश्याम विश्वकर्माले बताए।

जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाइन्छ। कालीगढ र वन पैदावर कच्चा पदार्थ अभावमा यी क्षेत्रका उद्योगहरू समेत बन्द हुने अवस्थामा पुगेका छन्।

राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाको काठ, कोइला, गोलजस्ता कच्चा पदार्थको अभावका कारण उत्पादनमा कमी आएको उद्यमीहरूको गुनासो छ। रञ्जिता खुकुरी उद्योगका सञ्चालक दिनेश गजमेरले भने, “हाल भनेजस्तो दक्ष कालीगढ भेटिँदैनन्, काठको त्यस्तै अभाव छ। यसकारण उत्पादन घट्दो छ, माग धान्न सकिएको छैन। कालीगढ अभावका कारण महँगो ज्याला दिएर काम गराउनुपर्ने अवस्था छ।”

भोजपुरे खुकुरी प्रयोग गर्न, सजाउन र कर्मचारीको स्वागतदेखि बिदाइमा समेत बिक्री हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरा श्रेष्ठले बताए। भोजपुरमा सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुनालगायतका खुकुरी बनाइन्छ।

यहाँ १९६५ सालदेखि नै खुकुरी उत्पादन सुरु गरिएको बताइन्छ। विसं २०२७ तिर तत्कालीन राजा महेन्द्र जिल्ला भ्रमणमा आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उपहारस्वरूप उहाँलाई खुकुरी दिएको र राजा बक्सिससहित यसको प्रचार भएपछि यहाँको खुकुरी लोकप्रिय भएको श्रेष्ठले बताए।

स्थानीय बजारमा प्रतिगोटा खुकुरीको मूल्य रु ८०० देखि रु एक हजार ८०० सम्म पर्ने गरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गरेको छ। यहाँको खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौँ हुँदै बाहिरी मुलुकहरूमा समेत चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *