‘बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउने’
ललितपुर, २४ माघ । ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रलाई बढावा दिई वातावरणमैत्री समाज निर्माणमा मद्दत गर्ने बताएका छन्।
खोटाङको दिक्तेलमा फागुन १५ देखि १७ गतेसम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’को पूर्वतयारीबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रम गरिएको थियो।
गभर्नर अधिकारीले आर्थिक विकासका लागि हरित अर्थतन्त्रको महत्त्व औंल्याउँदै बाँस सम्मेलनले शहर केन्द्रित दृष्टिकोणलाई चुनौती दिएको बताए। खोटाङमा आयोजना हुने सम्मेलनले बाँस सम्बन्धी नयाँ अभ्यासहरूलाई प्रोत्साहन गर्ने र हरित अर्थतन्त्रलाई बढावा दिने उनको विश्वास छ।
पूर्वमन्त्री गणेश शाहले खोटाङमा हुने सम्मेलनले बाँस उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। बाँस हाम्रो धर्म, संस्कृति, परम्परा, घरेलु उद्योग र जनजीविकासँग जोडिएकोले यो बहुउपयोगी वस्तु भएको उनको भनाइ थियो ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले बाँसलाई ‘हिमालयन बाम्बो ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने बताए। नेपालमा २३ जातका ८१ प्रजातिका बाँस पाइन्छन् र यसलाई गरिबको साथी मात्र नभई धनीहरूको सौख पूरा गर्ने वस्तुका रूपमा पनि प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।
ग्रीन बम्बो क्रियशन प्रालिका प्रतिनिधि प्रदीप दङ्गालले बाँस छिटो बढ्ने वनस्पति भएकाले यसलाई आर्थिक समृद्धिको केन्द्र बनाउन सकिने बताए। उनले प्लास्टिकजन्य सामग्रीको विकल्पमा बाँसका सामग्री प्रयोग गरी वातावरण संरक्षणमा योगदान पुर्याउन सकिने धारणा राखे।
दिक्तेल नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार सम्मेलनको उद्देश्य बाँसको सम्भावना, अवसर र चुनौतीको खोजी गर्नु, बाँस खेतीको विस्तार गर्नु, बाँसबाट बनेका वस्तुहरूको प्रदर्शनी गर्नु र किसानहरूलाई प्रोत्साहन गर्नु रहेको छ।
सम्मेलनमा सरकारी तथा गैरसरकारी निकाय, वन उपभोक्ता समूह, विश्वविद्यालय, अनुसन्धान केन्द्र र विद्यार्थीहरूको सहभागिता रहनेछ। सम्मेलनको नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ।