अर्थतन्त्र सुधार गर्न सरकारको प्रयास जारी

काठमाडौं, २७ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ। उहाँले सरकारले सार्वजनिक–निजी साझेदारी र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गरिरहेको जानकारी दिनुभयो।

नेपाल व्यवस्थापन संघको ४४ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको विकासका लागि सबैको साझा प्रयास र सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वाधार विकासका लागि आन्तरिक स्रोत परिचालन सम्बन्धी संघद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन कृष्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र अर्थशास्त्री एवं इन्स्टिच्यूट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) का कार्यकारी निर्देशक विश्वास गौचनले उक्त अध्ययनमाथि टिप्पणी गर्नुभएको थियो ।

राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष मदन दाहाल, कर्मचारी सञ्चय कोषका प्रशासक जीतेन्द्र धिताल, त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी पूर्व डीन प्राध्यापक डा. कुसुम शाक्य, र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले स्रोत परिचालनका विभिन्न पक्षमा आफ्ना विचार राख्नुभएको थियो । उहाँहरुले परियोजना कार्यान्वयन क्षमताको विकास, परियोजनाको पूर्व तयारी, र विश्वसनीय तथा बैंकबाट ऋण लिन योग्य परियोजनाको तयारीमा जोड दिनुभयो ।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, पेन्सन फण्ड र जीवन बीमा फण्ड लगायत दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरूमा रु. १५ खर्बभन्दा बढी रकम रहेको र त्यसको ठूलो हिस्सा पूर्वाधार (सार्वजनिक र निजी क्षेत्रका आर्थिक रूपमा सम्भाव्य परियोजना) मा लगानी गर्न सकिने सम्भावना रहेको बताइएको छ ।

उक्त कोषमध्ये रु. आठ खर्ब अवकाश कोष (रिटायरमेन्ट फण्ड) मा रहेको र यो कोष हरेक वर्ष बढ्दो क्रममा रहेकाले सरकारले लगानीका औजारहरू विस्तार गरी उक्त कोषलाई पूर्वाधार विकासमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको थियो । साथै, सरकारले उल्लिखित संस्थाहरूलाई स्वपुँजी लगानी र फाइनान्सिङका लागि विश्वसनीय परियोजनाहरू उपलब्ध गराउनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

हालसम्म यी कोषहरूबाट औसतमा आठ प्रतिशत मात्र पूर्वाधारमा लगानी परिचालन भएको छ । कर्मचारी सञ्चय कोषले १६.५ प्रतिशत ऊर्जा, रियलस्टेट तथा पर्यटन (हवाई उड्डयन) क्षेत्रमा लगानी गरेको छ। जीवन बीमा कोषको भने एकदमै कम हिस्सा मात्र पूर्वाधारमा लगानी भएको छ ।

व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले दीर्घकालीन कोष परिचालन गर्ने संस्थाहरूले आफ्नो लगानी विविधीकरण गरी पूर्वाधारमा लगानीमार्फत मुलुकमा उत्पादन र रोजगारी बढाउनुपर्ने धारणा राख्नुभयो । सोही अवसरमा संघले हरेक वर्ष प्रदान गर्दै आएको ‘म्यानेजर अफ द इयर अवार्ड’ उर्मिला श्रेष्ठलाई प्रदान गरिएको थियो। श्रेष्ठ सन् २००७ देखि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ ।