राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, २८ माघ । राष्ट्रियसभाले आज ‘मिडिया काउन्सिल विधेयक–२०८०’ सर्वसम्मतिले पारित गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गर्नुभएकाे विधेयकलाई राष्ट्रियसभाले अनुमोदन गरेको हो। विधेयकमाथि सांसद राजेन्द्रलक्ष्मी गैरेले दफावार छलफलमा भाग लिनुभएकाे थियाे ।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयकलाई स्वायत्त बनाउन नियमन र स्वनियमनको अधिकार दिइएको बताउनुभयाे । उहाँले विधेयकलाई सर्वसम्मतिले पारित गर्न आग्रह गर्नुभयाे ।

मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले २०८१ वैशाख १२ गते विधेयक दर्ता गरिएको थियो। यो विधेयकले पत्रकारिता क्षेत्रमा पेसागत आचरण कायम राख्न र स्वनियमनलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

विधेयकले प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रूपान्तरण गरी समयसापेक्ष बनाउने लक्ष्य राखेको छ। साथै, विद्युतीय अनलाइन र छापा पत्रकारितालाई मर्यादित, उत्तरदायी र विश्वसनीय बनाउन पनि विधेयकले सहयोग गर्ने अपेक्षा गरिएको छ। राष्ट्रियसभाको अर्को बैठक फागुन ४ गते दिउँसो १:१५ मा बस्नेछ।