विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौं, २९ माघ । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
विपक्षी दलका सबै सांसदहरू उठेपछि सदन अवरुद्ध भएको हो। शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो। उनले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाए पछि विपक्षी दलहरूले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सभामुखले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको बताउनुभएकाे छ ।