टिकटिके मोबाइल खोसाखोसले युवककाे लियाे ज्यान, प्रहरीमा यस्ताे बयान
काठमाडौं, २९ माघ । काठमाडौंमा चोरीको मोबाइलका विषयमा दुई समूहबीच झडप हुँदा एक युवकको ज्यान गएको छ।
चावहिलको कुमारीगालस्थित उमामहेश्वरीमा आइतबार बिहान भएको झडपमा गम्भीर घाइते भएका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरी कन्ट्रोलरुममा बिहान ६ः०५ मा ग्याङफाइटको सूचना पुगेपछि गौशालाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले दुईजना घाइते युवाहरुलाई उद्दार गरेर अस्पताल लगेकोमा संघर्ष कार्कीलाई डाक्टरले मृत घोषणा गरे।
उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। मृतक कार्कीको स्थायी ठेगाना काभ्रेपलाञ्चोकको धुलिखेल–९ पानीट्याङ्की हो। अर्का घाइते १६ वर्षीय क्षितिज कार्कीको हात, पिठ्यूँ र तिघ्रामा चोट लागेको थियो। उनलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको थियो। उनी अहिले गौशालाको हिरासतमा छन्।
घटनास्थलबाट प्रहरीले दोलखाका नुर्बु शेर्पा र सिन्धुपाल्चोकका विशाल तामाङलाई पक्राउ गरेको छ। उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयाे ।
बोहराका अनुसार एउटा समूहले टिकटिके मोबाइल चोरेको र अर्को समूहले देखेपछि खोसाखोस भएको र मोबाइल खोसाखोसका क्रममा झडप भएकाे बयान दिएकाे छ ।
पक्राउ परेकामध्ये युनिक लामा पाँच पटक अभद्र व्यवहारमा र विशाल तामाङ दुईपटक चोरीको मुद्दामा संलग्न रहेको प्रहरीको रेकर्डमा देखिएको छ। घटनाका एकजना आरोपी फरार रहेका छन्।
झडपमा संलग्न दुवै समूह काठमाडौंमा मोबाइल, ल्यापटप चोरीमा सक्रिय रहेको प्रहरीको भनाइ छ।
