काभ्रेमा छ महिनामा दुई सय ५२ अभियुक्त पक्राउ
काभ्रेपलाञ्चोक, १ फागुन । काभ्रेपलाञ्चोकमा पछिल्लो ६ महिनामा २ सय ५२ जना अभियुक्त पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार जिल्लामा भएका ३ सय १ वटा आपराधिक घटनामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेश ढकालका अनुसार प्रतिवेदनमा शान्ति-सुरक्षा, अपराध नियन्त्रण, र विपद् व्यवस्थापनका विभिन्न घटनाहरूको तथ्याङ्क विश्लेषणसहित प्रस्तुत गरिएको छ। यसको उद्देश्य सुरक्षा अवस्थाबारे नागरिकलाई जानकारी गराउनु र सुझाव संकलन गर्नु रहेको छ। प्रविधि प्रयोग गरी हुने अपराध बढेकोले त्यसमा कडाइ गरिने उनले बताए।
कार्यालयको तथ्याङ्क अनुसार, सो अवधिमा सडक दुर्घटनामा १० जनाको मृत्यु र ७८ जना घाइते भएका छन्। ३ जनाको हत्या भएको छ भने ५७ जनाले आत्महत्या गरेका छन्। प्राकृतिक प्रकोपका ४९ घटनामा ८१ जनाको मृत्यु र ९७ जना घाइते भएका छन्।
यस अवधिमा १ सय ३ जना विशिष्ट व्यक्तिले काभ्रेपलाञ्चोकको भ्रमण गरेका छन्। ३ सय २५ पसल तथा व्यापारिक संस्थाको अनुगमन गर्दा ६ फर्मलाई जरिवाना र १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलले ६ महिनामा १० करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। सहिद परिवारलाई ७६ लाख ८० हजार र विपद् प्रभावित परिवारलाई २३ करोड ८० लाख रुपैयाँ राहत वितरण गरिएको छ।