बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ,२ फागुन । तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजार १२६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्।

बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त संख्यामा पर्यटकहरू आएका हुन्।

पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले ५ हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताए। केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठका अनुसार केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको संख्या २ हजार ३५२ रहेको छ। क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष फुलमती थापाले पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका र विभिन्न होटलको तथ्याङ्कअनुसार थप १ हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेको जानकारी दिए।

काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरू प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन्। बन्दीपुरमा आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका छन्। माघ महिनामा मात्रै चीनबाट १ हजार ५०० पर्यटक आएका छन्। त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट पर्यटक आएका छन्।

बन्दीपुरबाट सुन्दर हिमाल, खोला, नदी तथा फाँटहरू सजिलै देखिन्छन्। यहाँ प्राचीन काठकलाले भरिएका घरहरू हेर्न पनि पर्यटकहरू आकर्षित हुन्छन्। बन्दीपुर गाउँपालिकासहितका सरोकारवालाहरूले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा घोषणा गरेका छन्।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सन् २०२५ मा १ लाख बाह्य र २ लाख आन्तरिक पर्यटक भित्र्याउने योजना रहेको बताए। सन् २०२५ सहित २०२७ सम्म ८ लाख पर्यटक भित्र्याउने योजना रहेको उनले जानकारी दिए।

क्षेत्रीय होटल सङ्घ बन्दीपुर इकाइ सभापति फुलमती थापाले पछिल्लो समय आन्तरिक पर्यटक पनि बढेको बताइन्। यहाँ दैनिक करिब ५०० आन्तरिक पर्यटक आउने गरेका छन्। बन्दीपुरमा बजार, टुँडिखेल सहिद स्मारक, थानीमाई मन्दिर, खड्गमाई मन्दिर, बिन्दवासिनी मन्दिर, मिनी ग्रेट वाल, रानीवन, तीनधारा, रामकोट, धरमपानी, कोरीखाका होमस्टे जस्ता पर्यटकीय गन्तव्यहरू छन्।

यहाँ नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेशभूषा र रीतिरिवाज पनि आकर्षणका केन्द्र हुन्। बन्दीपुरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ।

बन्दीपुरमा पर्यटक लक्षित होटलको विकास पनि भइरहेको छ। बन्दीपुरमा करिब ८० वटा होटल र एक दर्जन घरबास सञ्चालनमा छन्। पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबजारबाट ८ किलोमिटरको यात्रापछि बन्दीपुर पुग्न सकिन्छ।