सुन चाेरेकाे आराेपमा दैलेखमा ११ वर्षीय बालकको हत्या
सुर्खेत, ५ फागुन । दैलेखको दुल्लु नगरपालिकामा ११ वर्षीय बालकको हत्या भएको छ। सुनकाे गहना चोरी गरी बिक्री गर्ने क्रममा विवाद भएपछि बालकको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार हत्या अभियोगमा सोही ठाउँका १४ र १७ वर्षीय दुई किशोरलाई नियन्त्रणमा लिइएको छ। ती बालक माघ २५ गते दिउँसोदेखि हराइरहेका थिए।
परिवारले खोजतलास गर्दा नभेटिएपछि माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए। प्रहरी निरीक्षक सुनारले भने, “परिवारले दिएको निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या गरी खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको छ।”
प्रहरीका अनुसार हत्या गरिएका बालक र पक्राउ परेका दुई बालक मिल्ने साथी थिए। उनीहरूले मृतक बालककी आमाको सुनका गहना चोरेर बिक्री गर्ने योजना बनाएका थिए। प्रहरी निरीक्षक सुनारले भने, “त्यही सुनका गहना बिक्रीकै विषयमा विवाद भएछ। ती मृतक बालकले घरमा भनिदिन्छु भनेपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको छ।”
दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी नजिकैको खोला किनारमा खाल्डो खनेर पुरेका थिए। प्रहरीले बालक हराउनुअघि उनीसँगै रहेका साथीहरूबारे अनुसन्धान गरेको थियो। शनिबार दुई बालकलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरूले माघ २५ गते नै हत्या गरेर घर नजिकै गाडेको स्वीकार गरेका थिए।