पूर्वाधार अभावमा मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

म्याग्दी, ६ फागुन । मुस्ताङको घरपझोङ गाउँपालिका-३ मा अवस्थित कैह्योलोङ गुफा प्रचारप्रसार र आवश्यक पूर्वाधारको कमीका कारण ओझेलमा परेको छ।

जोमसोमको प्रवेशद्वार नजिकै स्याङ खोलाको किनारमा रहेको यो गुफामा पर्यटकको आवागमन न्यून रहेको छ ।

स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक मुस्ताङ भित्रिए पनि कैह्योलोङ गुफासम्म पुग्ने पर्यटकको संख्या अत्यन्तै कम रहेको स्थानीय बासिन्दा देवेन्द्र थकालीले बताए। “जोमसोमको प्रवेशद्वारमा भएर पनि यसको महत्वबारे प्रचारप्रसार नहुनु र व्यवस्थित पदमार्गको अभावले गुफा ओझेलमा परेको हो,” उनले भने, “यसको विकास गर्न सके पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ।”

थकाली भाषामा ‘कैह्योलो’ को अर्थ अविवाहित र ‘ङ’ को अर्थ ओडार हुन्छ। अविवाहित लामाहरूले ध्यान र तपस्या गर्ने ठाउँ भएकाले यसलाई कैह्योलोङ गुफा भनिएको हो।

गुफाभित्र तीनवटा कोठा छन् जहाँ परापूर्वकालमा लामाहरूले प्रयोग गरेका सामग्रीहरू देख्न सकिन्छ। स्याङ खोलाको मोटरेबल पुलबाट १० मिनेटको पैदल यात्रामा गुफा पुग्न सकिन्छ।

स्याङका पूर्व वडासचिव किरन सापकोटाका अनुसार कैह्योलोङ गुफा मानव सभ्यताको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ। जनकल्याण युवा क्लबले गुफासम्म पुग्न २० मिटरको रेलिङसहितको पदमार्ग बनाएको छ, तर स्याङखोलाको पुलबाट गुफाको फेदीसम्म पुग्न करिब ५०० मिटर पदमार्ग आवश्यक छ।

घरपझोङ गाउँपालिका-३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो पदमार्ग बनाउने योजना रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *