रिंकुकुमारी मृत्यु प्रकरण: प्रहरीले गर्याे आठ जना पक्राउ
सिराहा, ११ फागुन । सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई पक्राउ गरेकाे छ।
पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठ जनालाई पक्राउ गरिएकाे छानबिन समितिका संयोजक वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
नियन्त्रणमा रहेका व्यक्तिहरूविरुद्ध जाहेरी नपरेको र घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भएमा सोहीअनुसार कारबाही हुने उनले बताए।
माघ २७ गते शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्याएको बताइएको छ। रिंकुले आफूमाथि बलात्कार भएको बताएकी थिइन्। घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो। त्यसको भोलिपल्ट माघ ३० गते रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
सुरुमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको थियो। तर, सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको हो।
पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने पाँच पञ्चसहित आठ जनामाथि गत बिहीबार कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पुरक जाहेरी दिएका छन्। जाहेरीमा किटान गरिएका व्यक्तिहरू भने कोही पनि पक्राउ परेका छैनन्।
रिंकुको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए।
