महाशिवरात्रीमा ८९० जना ट्राफिक प्रहरी खटिने, पार्किङ कहाँ-कहाँ? (ट्राफिक रूटसहित)
काठमाडौं, १२ फागुन । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित र व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना तयार पारेको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन तथा दर्शनार्थीहरूको सहज आवतजावत र दर्शन गर्ने वातावरणका लागि ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको हाे।
ट्राफिक प्रहरीले महाशिवरात्री पर्वका लागि पार्किङ व्यवस्था तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङ व्यवस्था मिलाएकाे छ ।
यसैगरी, बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरू पार्किङ हुनेछन्। कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरूलाई पार्किङको व्यवस्था मिलाइएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँसमेत तोकिएको छ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरिनेछ। त्यसका लागि करिडोर सडक र भित्री सडकहरूमा समेत ट्राफिक प्रहरी खटाइनेछ।
ट्राफिक व्यवस्थापन
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने मालबाहक सवारी साधनलाई निषेध गरिएको छ। वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिनेछ। सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको छ।
शिवरात्री पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा कमाण्ड सेन्टर राखी ८९० जना ट्राफिक प्रहरी परिचालन गरिएको छ। आवश्यकता अनुसार थप प्रहरीसमेत खटाइने ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक संजय बहादुर राउतले जानकारी दिए।