आर्मी केपी ओली कपको फाइनलमा
काठमाडौँ, १६ फागुन। सुरक्षा फौजको टिम त्रिभुवन आर्मी क्लब शुक्रबार सङ्कटा क्लबलाई २–१ ले हराएर केपी ओली कप फुटबल प्रतियोगताको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीका नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । सङ्कटाका विसन गुरुङले गरेको गोल सान्त्वना मात्र बन्यो ।
खेलको आठौँ मिनेटमा जिलेस्पी जङग कार्कीको क्रसमा गोलपोस्ट नजिक रहेका नवयुगले गोल गरे । खेलको ६६ औँ मिनेटमा दिनेशले पेनाल्टमिा गोल गरी आर्मी टिमको अग्रता दोब्बर पारे । डिबक्समा अभिषेकले जिलेस्पीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो ।
इन्जुरी समयमा संकटाले एक गोल फर्काएर खेल रोचक बनायो । विसनले रिबाउन्डमा गोल गरी गोल अन्तर कम पारेका हुन् । सो खेलमा त्रिभुवन आर्मी क्लबका दुवै गोलमा संलग्न जिलेस्पी जङग कार्की म्यान अफ दि म्याच घोषित भए । संकटा सभापति कपको च्याम्पियन हो ।
आर्मीले अब उपाधिका लागि आयोजक केपी ओली फुटबल टिम र मच्छिन्द्र फुटबल क्लबमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।