‘औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडाैं, १८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूमा औषधि अभाव हुन नदिइने बताएका छन्। इलाम र पाँचथरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डले तोकेका औषधिहरू अस्पतालमा अनिवार्य रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिए।

इलाम अस्पतालको अनुगमनका क्रममा मन्त्री पौडेलले भने, “अब औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन। तोकिएका औषधि अनिवार्य रूपमा राख्नुपर्छ।” उनले सरकार र स्वास्थ्य बीमा बोर्डले तोकेका ९८ प्रकारका औषधिहरू अस्पतालमा सधैं उपलब्ध हुनुपर्ने बताए।

चिकित्सकले लेखेका औषधिहरू छैन भनेर बिरामीलाई फर्काउने काम अब सरकारी अस्पतालले गर्न नपाउने उनको भनाइ थियो। यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रममा केही समस्या देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले यसलाई सुधार गर्न सरकार लागिपरेको बताए। जिल्ला अस्पतालको स्तरोन्नति गर्ने कामलाई पनि स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा राखेको उनले जानकारी दिए।

इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नभएको गुनासो गरेका थिए। जवाफमा मन्त्री पौडेलले सुगम ठाउँमा मात्र चिकित्सकहरू बस्न रुचाउने गरेको बताए। सरकारले अब चिकित्सकहरूलाई खटाएको ठाउँमा जानैपर्ने नियम बनाउने उनले जानकारी दिए। तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहेको उल्लेख गर्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकहरूलाई बस्ने व्यवस्था मिलाउने बताए।

मन्त्री पौडेलले अस्पताल र स्वास्थ्य चौकीहरूलाई आफूले गर्न सक्ने कामको मात्र माग मन्त्रालयमा राख्न आग्रह गरे। पूर्वाधार र उपकरणको विषयमा पनि जिल्ला अस्पतालले माग राख्न सक्ने उनको भनाइ थियो। आवश्यकता अनुसार माग भएमा सम्बोधन गर्न सकिने उनले बताए। स्वास्थ्य चौकीमा एमआरआई र सिटी स्क्यान जस्ता उपकरण माग्दा तत्काल सम्बोधन गर्न नसकिने भन्दै उनले आवश्यकता अनुसार मात्र माग गर्न आग्रह गरे।

सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए। स्थानीय तह, प्रदेश र संघीय सरकारले फरक-फरक नीति बनाएर काम गर्न नसकिने भन्दै उनले एउटै नीति अवलम्बन गर्नुपर्ने बताए।

जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलाम अस्पतालको क्षमता विकास गर्दै १०० शैयाको बनाउनुपर्ने सुझाव दिए। उनले भौतिक पूर्वाधार, उपकरण र चिकित्सकको संख्या बढाउनुपर्नेमा जोड दिए। यस विषयमा संघीय सरकार र प्रदेश सरकारले एकसाथ पहल गर्नुपर्ने उनको भनाइ थियो। इलाम अस्पतालले मन्त्री पौडेललाई अस्पतालको भौतिक संरचना र थप गर्नुपर्ने विषयमा जानकारीसहितको ज्ञापनपत्र बुझाएको छ।

पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्थानीय तहमा निर्माण भएका आधारभूत अस्पतालबाट छिट्टै सेवा सञ्चालन हुने बताए। देशका ५७ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै उनले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको बताए। नयाँ नीति अनुसार नै आधारभूत अस्पताल सञ्चालन हुने उनको भनाइ थियो।

सबै आधारभूत अस्पतालमा जनशक्ति र उपकरणको अभाव रहेको स्वीकार गर्दै मन्त्री पौडेलले यसका लागि विशेष व्यवस्था गरेर जनशक्ति र उपकरणको प्रबन्ध सरकारले गर्ने बताए। यसका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेको उनको भनाइ थियो।