काठमाडौंकाे टोखामा प्रहरीले गर्याे गोली प्रहार, गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
काठमाडौं, १८ फागुन । काठमाडौंको टोखामा ज्यान मुद्दाका एक अभियुक्तलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। लाल मोहम्मदको हत्या अभियोग लागेका गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
सर्लाही हरिवन–२ का मोहम्मदको २०७९ असोज ३ गते गोठाटारमा हत्या भएको थियो। प्रहरीले उनलाई टोखाको झोरमा फेला पारेको थियो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार भाग्न खोज्दा पटेलमाथि गोली प्रहार गरिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनी काठमाडौं आएको सूचना पाएपछि पक्राउ गर्न पुगेको थियो। तर, पटेल भागेपछि प्रहरीले गोली हानेको हो। घटनाको थप विवरण आउन बाँकी छ।
एसएसपी बस्नेतले पटेललाई अहिले अस्पताल लगिएको र उनको अवस्था खतरामुक्त रहेको जानकारी दिए।
हत्याको बदलामा हत्या
मोहम्मद दर्जीको नामले चिनिने ५८ वर्षीय लाल मोहम्मद पनि हत्या अभियोगमा जेल बसेर छुटेका व्यक्ति हुन्। उनले २०६४ असार २० गते बाराका बलराम पटुवाको हत्या गरेका थिए।
काठमाडौंको अनामनगरमा भएको उक्त घटनामा संलग्न भएपछि मोहम्मद १० वर्षसम्म जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका थिए।