मछिन्द्रलाई ह्याट्रिकको अवसर, आर्मी अन्तिम बाधक
काठमाडौँ, १९ फागुन । मछिन्द्र फुटबल क्लबको केपी ओली कप च्याम्यिन्सीपको उपाधि ह्याट्रिकको अभियानमा त्रिभुवन आर्मी क्लब बाधक बनेर उभिएको छ । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार पछिल्ला दुई पटकको विजेता मछिन्द्र र आर्मी क्लब सोमबार साँझ ६ बजे भिड्दैछन् । फाइनल दशरथ रंगशालामा हुनेछ ।
मछिन्द्रले सुरुका दुई संस्करण जितेको थियो । आर्मी भने पहिलो प्रयासमै च्याम्पियन बन्ने दाउमा छ । मछिन्द्रका कप्तान विशाल श्रेष्ठले फाइनल सहज नहने भएपनि फाइनल जितेर ह्याट्रिक गर्ने बताउनुभएको छ । आर्मी बलियो टिम हो । तर हामी जित्नैका लागि मैदान उत्रिने छौं– कप्तान विशाल भन्छन् । आर्मीका कप्तान जिलेस्पीजंग कार्की यस प्रतियोगितामा आप्नो टिमको टिम वर्क राम्रो भएको र सोही टिमवर्कले फाइनल जिताउनेछ, भने ।
फाइनलमा विश्वकप विजेता तथा विश्वका सर्वकालीन महान् गोलकिपरको सूचीमा परेका इटालियाली गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथीका रूपमा रहने छन् । फाइनलअघि कुमा सागर, पुर्ण राईलगायतको प्रस्तुती रहनेछ ।
राष्ट्रिय युवा संघद्धारा आयोजित प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ ट्रफी, प्रमाण पत्र, मेडलसहित यमाहको मोटरसाइकल प्रदान गरिने छ ।