पर्यटन विकासका लागि असल व्यवहार अपरिहार्य : गृहमन्त्री लेखक

भैरहवा, २० फागुन । गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकासका लागि सबैले असल व्यवहार गर्नुपर्ने बताउनुभएकाे छ ।

रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको उद्घाटन गर्दै उहाँले पर्यटक र सेवाग्राहीसँग नम्र र मिठासपूर्ण व्यवहार गर्न कर्मचारीलाई निर्देशन दिनुभयाे।

“अध्यागमन भनेको मुलुकको ऐना हो। कर्मचारीले सेवा दिँदा सभ्यता र विनम्रतापूर्वक दिनुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयाे, “कहिलेकाहीँ कागजी प्रक्रिया नमिलेर पर्यटक रिसाउन सक्छन्, तर कर्मचारीले विनम्रतापूर्वक सेवा दिनुपर्छ। सेवाको भावनाले काम गर्नुपर्छ। रिसाउने र गलत व्यवहार गर्ने छुट कर्मचारीलाई छैन।”

उहाँले बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रूपमा स्थापित गर्न यहाँ पूर्वाधार निर्माण गरिएको बताउनुभयाे। नेपालका सीमा क्षेत्रमा रहेका १३ अध्यागमन कार्यालयले पर्यटकलाई नेपालमा सहज रूपमा घुम्फिर गर्न सहयोग पुर्‍याइरहेको उहाँको भनाइ थियो।

“सबै नाकाबाट पर्यटकको आगमन राम्रो छ। यो ठाउँ बुद्ध जन्मस्थल भएकाले धार्मिक पर्यटनको सम्भावना छ,” उहाँले भन्नुभयाे, “सरकारले पर्यटनमैत्री वातावरण बनाइरहेको छ। हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो, जसले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउँछ।”

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा हुने व्यवहारबाटै पर्यटकले नेपाललाई चिन्ने भएकाले असल व्यवहारमा जोड दिनुभयाे। सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र लगानीमैत्री वातावरण बनाउने काम गरिरहेको पनि उहाँकाे भनाइ छ।