चारदेशीय महिला टी–२०आई जित्ने नेपालको लक्ष्य
प्रणित शाक्य
काठमाडौं, २१ फागुन । गत महिना घरेलु मैदानमा भएको त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग छ खेल हार्यो । महिला क्रिकेट टिमको सो निराशजानक प्रदर्शनमा फिटनेसलाई दोष दिइएको थियो । नेपाली महिला टिम सोही फिटनेशको कमजोरीलाई सुधार्दै चारदेशीय महिला टी–२०आई शृङखला खेल्न युगान्डा जाँदैछ । सो प्रतियोगतामा नेपाल र आयोजक युगान्डासहित नामिबिया र हङकङ पनि रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा युगान्डा जाने टिमलाई शुभकामनासहित विदाइ गर्यो । यस प्रतियोगितालाई ध्यानमा राखेर क्यानले भारतीय फिटनेस प्रशिक्षक मोनिकालाई स्ट्रेन्थन तथा कन्डिसन प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । यसअघि मोनिकाले नेपाली यू१९ महिला टिमलाई एसिया कप र विश्वकपको समयमा पनि फिटनेस प्रशिक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।
नेपाल महिला राष्ट्रिय टिमकी कप्तान इन्दु वर्माले पनि गत महिना नेदरल्यान्ड र थाइल्यान्डसँगको त्रिदेशीय शृृङ्खलामा गरिएको गल्तिलाई सुधार गरी खेल्नेछौँ, भनिन् । उनको संकेत फिटनेसतर्फ नै थियो । नयाँ फिटनेस ट्रेनर पनि आउनुभएको छ । बन्द प्रशक्षिणमा फिल्डिङ र फिटनेसमा सुधारका लागि धेरै काम भएको छ । युगान्डामा हामी राम्रो प्रदर्शन गर्नेछौँ, उनको भनाई थियो ।
प्रशिक्षक मनोज कटुवालले थायल्यान्ड र नेदरल्यान्ड्सँग हारेपछि मिडियामै आफ्ना खेलाडीमा फिटनेस नभएको भन्दै रोष प्रकट गरेका थिए । प्रशिक्षक कटुवाल अहिले भने आप्mनो टिमदेखि खुशी देखिए । प्रशिक्षक कटुवाल भन्छन्– नेपाल ब्याटिङ र बलिङमा राम्रै छ अब फिटनेश पनि राम्रो भएकोले उपाधि जितेरै फर्कनेछौँ । उनले यु१९ का खेलाडीको आगमनले पनि टिममा नयाँ उर्जा थपेको जानकारी गराए । नयाँ खेलाडहरुको बलिङ र फिल्डिङ निकै राम्रो छ– प्रशिक्षकको भनाई छ ।
नेपालले फागुन २४ गते नामिबियासँग खेलेर प्रतियोगताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले फागुन २५ गते युगाण्डा, फागुन २६ गते हङकङ, फागुन २८ गते नामिबिया, फागुन २९ गते युगाण्डा र फागुन ३० मा हङकङसँग खेल्नेछ । प्रत्येक टिमले एकअर्कासँग दुई पटक खेलेपछ अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच फाइनल हुनेछ । नेपालका लागि हङकङ र युगाण्डा परिचित प्रतिद्वन्द्वी हुन् । महिला क्रिकेटमा नेपाल र नामिबियाबिच भने पहिलो पटक आमनासामना हुँदैछ ।
क्यानका सचिव पारस खड्काले महिला क्रिकेट विकासका लागि योजनाअनुरुप यो प्रतियोगिता हो भन्नुहुँदै नयाँ ठाउँमा नयाँ अनुभव प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।
नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट रहनुभएको छ । सना र रिया पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् । यस टिममा विगतमा राष्ट्रिय टिममा नियमित रहेकी सीता राना मगर र कविता कुँवरको भने अनुपस्थिति रहेको छ । यी दुवै खेलाडीले चोटका कारण प्रारम्भिक प्रशिक्षण नै गुमाएका थिए ।