पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं, २२ फागुन । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ।

सरकारले माघ १८ गते राष्ट्रिय सभामा पेश गरेका ६ वटा अध्यादेशमध्ये ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ बाहेक अन्य ५ अध्यादेश आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो।

आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ निर्णयार्थ प्रस्तुत हुनेछन्। यी अध्यादेशहरु प्रतिनिधि सभाले बुधबार नै पारित गरिसकेको छ।

संवैधानिक व्यवस्था अनुसार संसद सुरु भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छन्।

सरकारले संसद अधिवेशन नभएको अवस्थामा ती ६ वटा अध्यादेश जारी गरेको थियो। ती अध्यादेशहरू अधिवेशन सुरु भएको पहिलो दिन अर्थात् माघ १८ गते नै संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा पेश भएका थिए।

यसअघि माघ २४ गते दुवै सदनमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो। तर, सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने निर्णय गरेपछि माघ २४ गते अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूची दुवै सदनमा स्थगित भएको थियो।

राष्ट्रिय सभामा अध्यादेश पारित गर्न ३० जना सदस्य आवश्यक पर्छ। तर, अध्यादेशको पक्षमा अधिकतम २८ जना सदस्य मात्रै छन्। सरकारलाई समर्थन गरेको जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशबाहेकलाई मात्र स्वीकार गर्ने अडान लिएपछि सरकारले भूमिबाहेकका अध्यादेश निर्णयार्थ प्रस्तुत गर्न लागेको हो।

निर्णयार्थ पेश हुन लागेका पाँच वटा अध्यादेशको विपक्षमा १२ वटा अस्वीकारको सूचना दर्ता भएको संघीय संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार, राष्ट्रिय सभा नियमावली बमोजिम प्रक्रिया अघि बढाइनेछ। नियमावली अनुसार सुरुमा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश हुनेछ। त्यसपछि सदस्यहरूले छलफलमा भाग लिनेछन्। सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ पेश हुनेछ।