एचआइभी सङ्क्रमितहरूको सङ्घर्षपूर्ण जीवन र सफलताका कथा
चितवन,२२ फागुन । राप्ती नगरपालिकाकी नम्रता गुरुङ (नाम परिवर्तित) अहिले एक प्राथमिक तहकी शिक्षिका हुनुहुन्छ। उहाँ एचआइभी सङ्क्रमित हुनुहुन्छ, तर यसलाई आफ्नो सफलताको बाधक बन्न दिनुभएन ।
कक्षा १२ मा पढ्दा एचआइभी सङ्क्रमण पत्ता लागेपछि उहाँलाई जीवन समाप्त भएको जस्तो लागेको थियो। आमाको निधनपछि काकाकाकीको सहारामा हुर्किएकी उहाँले बुबाको भारतमा मृत्यु भएपछि थप पीडा भोग्नुपर्यो। तर, निरन्तरको मेहनत र सङ्घर्षले उहाँलाई शिक्षा सेवामा स्थायी हुन सफल बनायो ।
“सानै उमेरमा बुबाआमा गुमाएपछि समाजलाई केही गरेर देखाउनु छ भन्ने उद्देश्यले मेहनत गर्दा दोस्रो पटकमा सफलता पाएँ,” गुरुङले भन्नुभयो, “यसले केही गर्न सक्दैन भन्ने समाजलाई केही गरेर देखाउँछु भन्ने अठोटका साथ लागेपछि गर्न सकिन्छ।”
कान्छी आमाले पढ्न खर्च नदिँदाको दुःख सम्झँदै उहाँले प्रौढ कक्षा पढाउने र ज्यालादारी गर्दै कक्षा १२ सम्मको अध्ययन पूरा गर्नुभयो। अहिले स्नातक तह दोस्रो वर्षमा अध्ययनरत उहाँले परिवारको सहयोग नपाए पनि एचआइभी सङ्क्रमण पुष्टि भएपछि पनि हार मान्नुभएन । भारतमा एचआइभी सङ्क्रमितसँग विवाह गरेर गएपछि श्रीमान्-श्रीमती दुवैले काम गर्न थालेको र अहिले नौ वर्षको छोरो रहेको उहाँले बताउनुभयो । नियमित औषधि सेवनले स्वास्थ्यमा कुनै समस्या नभएको उहाँको भनाइ छ ।
अनेक दुःख र सङ्घर्षका बीचमा निरन्तर मेहनत गरेपछि प्राथमिक तहमा स्थायी शिक्षक बन्न सफल गुरुङले भेदभाव नभए निजामती सेवामा अधिकृत बनेर देश र जनताको सेवा गर्ने इच्छा व्यक्त गर्नुभयो ।
भरतपुर महानगरपालिकाकी सविना पण्डित (नाम र थर परिवर्तित) विगत १८ वर्षदेखि एआरटी औषधि सेवन गर्दै आउनुभएको छ। उहाँ अहिले एड्स सङ्क्रमितको संस्था राष्ट्रिय समन्वय संयन्त्रमा युवा प्रतिनिधि भएर काम गरिरहनुभएको छ ।
सुरुमा औषधि सेवन गर्दा कठिन भए पनि अहिले सहज भएको उहाँले बताउनुभयो। “पहिले मैले केही गर्न सक्दिनँ भन्ने लाग्थ्यो, तर अहिले यो रोग सामान्य हो र आत्मबल बलियो बनाए जितिन्छ भन्ने लागेको छ,” उहाँले भन्नुभयो। सङ्क्रमित युवाहरू खुलेर आउन सके समाज परिवर्तन गर्न सकिने उहाँको विश्वास छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले एचआइभी एड्स पछिल्लो समय सामान्य रोग जस्तै भएकाले आत्मबल बलियो बनाएर काम गर्न सके सफलता हात पार्न कठिन नहुने बताउनुभयो।
भरतपुर अस्पतालको एएचएफका कार्यक्रम संयोजक कृष्णहरी सापकोटाका अनुसार एचआइभी एड्स मानव प्रतिरक्षा प्रणालीलाई नष्ट पार्ने भाइरसको सङ्क्रमणका कारण हुने भएकाले नियमित औषधि सेवन र आत्मविश्वासले यो रोगसँग सहजै लड्न सकिन्छ। अस्पतालको एएचएफ कार्यक्रमबाट हाल १ हजार १ सय ९७ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।