चन्द्रागिरिको प्लाष्टिक कारखानामा भीषण आगलागी, करोडौंको क्षति

काठमाडौं, २३ फागुन । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ कारखानामा आज भीषण आगलागी भएको छ।

पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको कारखानामा लागेको आगोले ठूलो क्षति पुर्‍याएको हाे।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ। बालाजु, थानकोट प्रहरी वृत्त र प्रभागबाट ३२ जनाको टोली खटिएका थिए। सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

प्लाष्टिक कारखाना पूर्ण रूपमा जलेर नष्ट भएको छ। क्षतिको यकिन विवरण आउन बाँकी भए पनि करोडौंको क्षति भएको अनुमान गरिएको छ।

आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारुण यन्त्र, बालाजु, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्ध रामहिटी र बूढानीलकण्ठ नगरपालिकाका गरी सातवटा दमकल र १५ वटा पानी ट्याङकर प्रयोग गरिएको थियो। आगलागीको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *