वुमन्स डे चारदेशीय टि२० आईमा नेपाल पराजित
काठमाडौँ, २४ फागुन । वुमन्स डे चारदेशीय टि२० आई क्रिकेट शृङ्खलामा नेपाल शनिबार नामिबियासँग डकवर्थ लुइसको आधारमा छ विकेटले पराजित भएको छ । महिला क्रिकेटमा नेपाल र नामिबियाबिच यो पहिलोपटक खेल हो । यसैगरी नेपाली महिला क्रिकेट टिमले पहिलो पटक एसिया बाहिर खेलेको हो । यस शृङ्खलामा आयोजक युगान्डा र हङकङ पनि सहभागी छन् ।
युगान्डास्थित इन्टेबी क्रिकेट ओभलमा भएको खेलमा टस जितेर पहले ब्याटिङ रोजेको नेपालले निर्धारीत २० ओभरको अन्तिम बलमा अलआउट हुनुअघि ९२ रन बनाएको थियो । नेपालका लागि प्रारम्भिक ब्याटर सम्झना खड्काले ११ बलमा चार चौकासहित सर्वाधिक १८ रन बनाइन् । इश्वरी विष्ट १४ बलमा दुई चौकासहित १७ रनमा अविजित रहिन् । अलराउन्डर कविता जोशीले ३१ बलमा १६ रन बनाइन् । पुजा महतो १३, रोमा थापा ९, कप्तान इन्दु वर्मा २ तथा रुविना क्षेत्री र राजमती ऐरी शुन्यमा आउट भए ।
नामिबियाका लागि तेल बलर विल्का म्वाटिलेले तीन–तीन विकेट, केलन ग्रीनले दुई तथा डियरीगाटले एक विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा नामिबियाले आठ ओभरमा एक विकेटको क्षतिमा ३९ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल पुनः सुचारु भएपछि नामिबियालाई १५ ओभरमा ७१ रन बनाउनुपर्ने संशोधत लक्ष्य दिइएको थियो । नामिबियाले विश्रामपछि सात ओभरमा ३२ रन बनाउनुपर्ने भयो । नामिबियाले एक बल बाँक छँदा चार विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो । नामिबियाका लागि प्रारम्भिक ब्याटर मेकेलायेले सर्वाधिक २६ रन बनाइन् । यसैगरी डियरीगाटले सात बलमा अविजित १३ रनको महत्वपूर्ण पालि खेलिन् ।