राष्ट्रियसभामा सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, २५ फागुन । राष्ट्रियसभाका सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहोराले नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे। उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए।
सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले तलब नपाएको उल्लेख गर्दै तत्काल उद्योग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे। सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउन र समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न आग्रह गरिन्। सांसद राजेन्द्रलक्ष्मी गैरेले शिक्षक आन्दोलनमा रहेको उल्लेख गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन हुन नसकेको बताइन्।
कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा जङ्गली जनावरको आक्रमणको त्रासले सास्ती बेहोरिरहेको उल्लेख गर्दै निकुञ्ज क्षेत्रका बस्तीमा तारजालीको व्यवस्था गर्न माग गरिन्। कांग्रेसकै सांसद नारायणदत्त मिश्रले देशभरका शिक्षकहरु आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न सरकार समक्ष माग गरे।
सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए।
माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए। सोही पार्टीका सांस सुरेश आले मगरले महिला मुक्ति आन्दोलनका लागि अझै सङ्घर्ष जरुरी रहेको बताए।
जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले बुद्ध एयरको जहाज पाङ्ग्रा बिना काठमाडौँमा अवतरण गरेको विषयले हवाई सेवा र सुरक्षित यात्राबारे प्रश्न उठेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए।