भोजपुरको सिलिचोङमा पासाङको कागज उद्योग ३५ वर्षको यात्रा
भोजपुर, २६ फागुन । भोजपुरको सिलिचोङबाट ३५ वर्षअघि रोजगारीको खोजीमा हिँडेका पासाङ निमा शेर्पाले नेपाली हाते कागज उद्योगमा आफ्नो भविष्य बनाएका छन्। ताप्लेजुङबाट सुरु भएको उनको यात्रा बाजुरा, सुर्खेत हुँदै गोरखासम्म आइपुगेको छ।
विगत सम्झँदै पासाङले भने, “कामको खोजीमा भौंतारिँदा हाते कागज उद्योगमै पुगें।” २२ वर्षअघि गोरखा र लमजुङको सिमानामा रहेको चेपेखोलामा आफन्तले चलाएको उद्योगमा काम गरेपछि उनलाई आफैँले उद्योग चलाउने आँट आयो।
पाँच लाख ऋण लिएर उनले हाते कागज उद्योग सुरु गरे। अहिले उनको वार्षिक कारोबार १५ देखि २० लाखसम्म हुन्छ। नियमित पाँच जनालाई रोजगारी दिएका छन् भने सिजनमा लोक्ता सङ्कलन गर्ने धेरैले काम पाउँछन्। चैत-बैशाखमा करिब सय जनाले लोक्ता सङ्कलन गर्छन्। उनीहरूले प्रतिकिलो १५० रुपैयाँभन्दा बढी पाउँछन्।
गोरखा नगरपालिका-६, नयाँबस्तीमा रहेको पासाङको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले उत्पादन गरेको कागजको बजारमा माग धेरै छ। धेरै ग्राहक उद्योगमै कागज लिन आउँछन्। कतिले त पहिले पैसा पठाएर सामान मगाउँछन्।
भाडाको जग्गामा उद्योग चलाइरहेका पासाङले वार्षिक १० देखि २० टन कागज उत्पादन गर्छन्। उत्पादित कागज प्रतिकिलो ३ हजार ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ। गोरखामा उत्पादित कागज अन्य ठाउँको भन्दा राम्रो हुने भएकाले यसको माग बढी छ।
