जलवायु न्यायलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडाैं, २६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्नुपर्ने बताउनुभएकाे छ ।

भौगर्भिक समाजद्वारा आयोजित सम्मेलनको उद्घाटन गर्दै उहाँले जलवायु न्यायको मुद्दालाई विश्वसामु पुर्‍याउनुपर्ने धारणा राख्नुभयाे ।

विकसित देशहरूमा भएको औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन र कार्बन उत्सर्जनले नेपालजस्ता विकासशील देशहरू प्रभावित भएको भन्दै उहाँले यस विषयलाई जोडदार रूपमा उठाउनुपर्ने बताउनुभयाे। जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र प्राकृतिक प्रकोप व्यवस्थापन जस्ता विषयले सम्मेलनको महत्व बढाएको उहाँको भनाई थियो।

राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढिरहेको र हिमालका हिउँ पग्लिएर हिमतालहरू फुट्ने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्नुभयाे। अधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको उहाँले बताउनुभयाे। हिमालय पर्वत शृङ्खलामा बारम्बार जाने भूकम्प पनि नेपालको विकासका लागि समस्या रहेको उहाँको भनाई थियो।

राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, जलवायु परिवर्तनको प्रभाव र भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगबारे छलफल हुने विश्वास व्यक्त गर्नुभयाे । उहाँले प्राकृतिक स्रोतको उत्खनन र सदुपयोगका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न सम्मेलन उपयोगी हुने बताउनुभयाे ।