काभ्रेको गोरखनाथ वनमा भीषण डढेलो, बस्ती जोखिममा

काभ्रेपलाञ्चोक, ४ चैत । काभ्रेपलाञ्चोककाे बेथानचोक गाउँपालिका-३, बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार राति ११ बजेदेखि भीषण डढेलो लागेको छ। आगो नियन्त्रणको प्रयास जारी छ, तर बस्ती जोखिममा परेको छ।

वडाध्यक्ष कुवेर ढकालका अनुसार, आगलागी क्षेत्रबाट बस्ती करिब १ किलोमिटर टाढा छ, तर थलीडाँडा र हर्कभन्ञ्याङ खानेपानी आयोजना जोखिममा छन्। यदि आगो देव्रेतर्फ फैलियो भने मानव बस्तीमा ठूलो क्षति पुग्न सक्ने खतरा छ।

रातिको समयमा आगो लागेकाले तत्काल नियन्त्रण गर्न सम्भव भएन। अहिले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता समिति र स्थानीयवासी आगो निभाउने प्रयासमा जुटेका छन्। अहिलेसम्म मानवीय र पशुधनको क्षति भएको खबर छैन।

यसअघि माघमा खानीखोला गाउँपालिका-१ स्थित थामलेख डाँडाको महाभारत जङ्गलमा लागेको डढेलो हेलिकप्टरको सहायताले चार दिनपछि नियन्त्रणमा लिइएको थियो। खानीखोलाबाट सुरु भएको आगो बेथानचोक गाउँपालिकाका विभिन्न वडासम्म फैलिएपछि हेलिकप्टर बोलाइएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र अन्य निकायको प्रयास असफल भएपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाएर आगो नियन्त्रणमा लिएको थियो।