सुन तस्करी मुद्दामा ५ वर्ष जेल बसेका थिए २५ करोड विदेशी मुद्रासहित पक्राउ परेका लामा

काठमाडाैं, ५ चैत्र । काठमाडौंको टाेखा झोरबाट करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका कन्टेनर चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेको हो।

सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा ना ७ ख १६५२ नम्वरकाे गाडी कन्टेनर र कन्टेनर चालक सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका- १ का कुशाङ लामा सहित २५ करोड बराबरको रकम बरामद गरेको थियो।

उनी पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका थिए। प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाए लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।

शंका लागेपछि काठमाडौंको झोरबाट उक्त गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए। गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए। ट्रकको पछाडि भने खाली नै थियो।

प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *