त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
काठमाडौँ, ७ चैत । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन्।
रङ्गशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उनले निर्माण व्यवसायीलाई आग्रह गरेका हुन्।
“यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिङ्गो देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो। त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भने।
क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्माण कार्यको निरीक्षण गरेका थिए। गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको थियो। उक्त कार्य सम्पन्न गर्न आगामी वैशाख मसान्तसम्मको समयसीमा रहेको छ।
दर्शकदीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो। तीन कम्पनीले प्यारापिट निर्माण गर्न संयुक्त रूपमा काम पाएका थिए।