दिक्तेल रुपाकोट मझुवागढीकाे मेरुङ सामुदायिक वनमा भेटियो दुर्लभ रेडपाण्डा

खोटाङ, ७ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएको छ।

रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन्।

नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थार महोत्सवलाई केन्द्रित गरेर चैत १ गतेदेखि वन क्षेत्र प्रवेश गरेको टोलीले चौथो दिन रेडपाण्डा भेटेको हो। रेडपाण्डाको फोटो र भिडियोका साथै रेडपाण्डासम्बन्धी स्थलगत अध्ययन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी–६ का वडाध्यक्ष माधव राईको संयोजकत्वमा एक टोली मेरुङ पुगेका हुन्।

रेडपाण्डालाई २ हजार ७ सय ८१ मिटरको उचाइमा भेटिएको वडाध्यक्ष राईले जानकारी दिए। उनका अनुसार विभिन्न समूहमा विभाजित भएर खोजी गर्ने क्रममा रुखमा सुतिरहेको अवस्थामा रेडपाण्डा भेटिएको हो।

भेटिएको रेडपाण्डा करिब २ वर्ष ६ महिनाको भाले भएको मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पल्लवसिंह राईले जानकारी दिए। उनका अनुसार उक्त वनमा करिब पाँच वटा रेडपाण्डा हुनसक्ने अनुमान गरिएको छ।

आकार र तौलको आधारमा रेडपाण्डालाई पाँच प्रकारमा विभाजन गरिने बताउँदै वनमा पाँचै प्रकारका रेडपाण्डा पाउन सक्ने सम्भावना रहेको रेडपाण्डा हेरालु पुष्पलाल गिरीले बताए। नगरपालिकाको कोप्चेसहित अन्य वनमा पनि रेडपाण्डा भेटिने गरेको स्थानीयले बताउँदै आएका छन्।

रेडपाण्डाले विशेषगरी मालिङ्गो बाँसको टुसा खान मन पराउने हुनाले मालिङ्गो भएको क्षेत्रमा बढी भेटिने स्थानीय बताउँछन्। रेडपाण्डा खोजीका लागि टोली संयोजक राईसहित महोत्सव संयोजक, दिक्तेल रुपाकोट मझुवागढ–१० का वडाध्यक्ष मुगाधन राई, १२ नं का वडाध्यक्ष दानबहादुर राईलगायत टोली वन क्षेत्रमा पुगेर अनुसन्धान थालेको वन उपभोक्ता समूहका अध्यक्ष राईले उल्लेख गरे।

विशेषगरी फेदी क्षेत्रका विभिन्न सामुदायिक वन समूहमा आबद्ध स्थानीय रेडपाण्डाको संरक्षण तथा प्रचारप्रसार अभियानमा जुटेका छन्। फेदीवासीले वन क्षेत्रमा रेडपाण्डा संरक्षण तथा प्रचारप्रसारसम्बन्धी होर्डिङ बोर्ड राख्नका साथै फोटो खिचेर उपलब्ध गराउनेलाई नगद पुरस्कार दिने गरेका छन्।

नगरपालिकाले गर्ने रेडपाण्डा तथा थार महोत्सवले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ थप प्रभावकारी बन्ने र दीर्घकालीन योजना सफल बनाउन मद्दत पुग्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *